भारतीय प्रधानमन्त्री मोदीले दिएको श्रीखण्ड चन्दन पशुपतिमा आजदेखि चढाइने

३ मंसिर २०७५, सोमबार ०७:३४

काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा आजदेखि चढाइने भएको छ।

२०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले २ हजार ५ सय किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए। पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ। वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ।पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई अढाई किलो गरी मासिक ५ किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले बताय। यो चन्दन ६ वर्षसम्मलाई पुग्ने जनाइएको छ।