राष्ट्रसंघकी विशेष प्रतिनिधि नेपाल आउने

३० कार्तिक २०७५, शुक्रबार १७:५२

काठमाडौं ।
महिला विरुद्धको हिंसा सम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधि डुब्राभका सिमोनोभिचले मंसिर ३ गतेबाट नेपाल भ्रमण गर्ने भएकी छन् ।

नेपालमा महिलाहरु माथि हुने हिंसा सम्बन्धी प्रतिवेदन तयार पार्न उनी नेपाल आउन लागेकी हुन् । उनले १० दिन नेपालमा बिताउने नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ ।नेपाल भ्रमणका बेला महिला माथि हुने लैंगिक प्रकृतिका हिंसा, बिभिन्न हिंसाबाट प्रभावित महिलाले सामना गर्नु परेको अवस्थाका बारेमा छलपल गर्नेछु राष्ट्रसंघको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिमोनाभिचले भनाई उद्धृत गरिएको छ ।

नेपाल बसाईमा उनले नेपालमा कार्यान्वयनमा रहेका महिला सम्बन्धी कानून, नीति, बचाउका पहलका विषयमा जानकारी लिने छिन् । उनले सरकारी उच्च अधिकारीहरुसँग भेटी छलपल गर्ने पनि जनाइएको छ । नेपालमा रहेका राष्ट्रसंघका प्रतिनिधि, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि हिंसा पीडित महिला लगायतसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपालबाट फर्किनु अघि आफ्नो नेपाल बसाईंमा महिला हिंसा सम्बन्धी प्राप्त सूचनालाई उनले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जनाइएको छ । नेपाल सम्बन्धी अन्तिम प्रतिवेदन भने उनले सन् २०१९ को जुनमा राष्ट्रसंघीय मानवअधिकार परिषदमा बुझाउने छिन् ।