माथिल्लो तामाकोशीको सेयर बाँडफाँट ढिलाइ हुने तर आवेदन दिएका सबैले ४० कित्ता पाउने

३० कार्तिक २०७५, शुक्रबार १२:५२

काठमाडौँ । माथिल्लो तामाकोशीको सेयर बाँडफाँटमा ढिलाइ हुने भएको छ । कतिपय पहिले सेयर भएकाहरुले दोहोर्याएर आवेदन दिएपछि दोहोरिएका आवेदन हटाउनका लागि बिक्री प्रबन्धक नागरिक लगानीकोषले आवेदन जाँच गरिरहेको छ । कोषका मर्चेन्ट बैंकिङ विभागका प्रमुख रोशनजंघ कार्की आवेदन दोहोर्याएर दिएपछि समयमै सर्बसाधारणका लागि खुला गरिएको सेयरको बाँडफाँट गर्न नसकिएको बताउँछन् ।

यसअघि कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गरेको थियो ।सो समयमा आवेदन दिएकाहरुले फेरी तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिएको सेयरमा दोहोर्याएर आवेदन दिएपछि त्यस्ता आवेदकलाई हटाउने काम भइरहेको छ । कार्कीका अनुसार अहिलेसम्म १२ हजारको हाराहारीमा त्यस्ता आवेदकलाई छानिसकिएको छ ।

कार्कीले यस अघिका आवेदकलाई डिम्याट अनिवार्य नगरिएको कारण अहिले छान्न समस्या भएको बताए । उनले भने, ‘डिम्याट भइदिएको भए सिस्टम आफैले त्यस्ता आवेदन लिदैनथ्यो । डिम्याट लागु नगरिएकाले दोहोरीको आवेदन छान्न झन्झट भइरहेको छ ।’

तेस्रो चरणको सेयरमा ३ लाख ४६ हजार १ सय ६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कोषले मंसिरको पहिलो साता सेयर बाँडफाँट गर्ने गरी काम अघि बढाएको छ । यदि सो समयमा पनि नसकिए दोस्रो सातामा भने बाँडफाँड हुने कार्कीले भने । कोषका अनुसार आवेदन दिएका सबैले चालिस कित्ता पाउने र केहीले ५० कित्ता पाउनेछन् ।

कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि सेयर निष्काशन गरेको थियो । सो सेयर अहिलेसम्म बाँडफाँट हुन नसकेको हो । स्रोत रातोपार्टी डटकम