मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित

३१ आश्विन २०७४, मंगलवार १४:०७

३१ असोज काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको चालु ७२ औँ अधिवेशनले नेपाललाई संयुक्त राष्ट्रसंघको ४७ सदस्यीय मानव अधिकार परिषद्को एशिया तथा प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यही वर्षको अन्त्यमा रिक्त हुने चारवटा सदस्यमध्ये एक स्थानमा नेपाल सबैभन्दा बढी १६६ मत प्राप्त गरी निर्वाचित भएको हो ।

मानव अधिकार परिषद्मा भएको निर्वाचनबाट नेपालको संविधानमा रहेका मूलभूत प्रावधानहरू, नेपालको मानव अधिकार संरक्षण र संम्वद्र्धनप्रतिको प्रतिबद्धता र नेपालको आफ्नै मौलिकपनको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको र समर्थन गरेकाले सो सदस्यमा विजयी भएको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

मन्त्री महराले मानव अधिकार परिषद्को सदस्यमा सफल निर्वाचनका लागि सहयोग र समर्थन प्रदान गर्नुहुने छिमेकी राष्ट्रलगायत सम्पूर्ण मित्रराष्ट्रहरूप्रति सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२ औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए ।