उड्ने मोटरसाइकलमा दूबई पुलिस

२९ कार्तिक २०७५, बिहीबार ०९:१२

एजेन्सी ।

अब केही समयमै दुबईमा पुलिसहरुले उड्ने मोटरसाइकलमार्फत काम गरिरहेको देख्न पाइने भएको छ । क्यालिफोर्निया स्थित ‘होभरसर्फ’ कम्पनीले सो उपकरण एक प्राविधिक प्रदर्शनीमा प्रस्तुत गरेको एक वर्षपछि नै त्यसको नयाँ मोडल दूबईमा ल्याएको हो जसपछि त्यहाँका पुलिसहरुलाई सो मोटरबाइक चलाउने प्रशिक्षण समेत दिन सुरु गरिएको बताइएको छ । विद्युतबाट उड्ने मोटरबाइकले हेलिकप्टर जसरी नै उडान भर्ने र अवतरण गर्न सक्ने बताइएको छ ।

२०१७ मा भएको सम्झौता अनुरुप होभरसर्फले दूबई पुलिसलाई ‘युनिट एस ३ २०१९ होभरबाइक’ उपहारमा दिएको हो । दुबई पुलिसको प्राविधिक विभागका प्रमुख ब्रिगदियर खलिद नािसरले मोटरसाइकलको व्याख्या गर्दै अब यही साधनलाई कठिन क्षेत्रहरुमा पहिलो उत्तरदायित्वका रुपमा पठाइने बताएका हुन् । अबको दुई वर्षमै होभरबाइकको औपचारिक प्रयोग सुरु हुने उनको भनाइ छ । यस्तोमा अहिले नै सुरक्षाकर्मीहरुले ट्रेनिङ लिन सुरु गरिसकेको उनले संचार माध्यम लाइ बताएका हुन् ।

ड्रोनको अनुभव भएका पुलिसहरुलाई होभरबोर्ड चलाउन पहिलो प्राथमिकता दिइने बताइएको छ । अहिलेका लागि भने यो मोटरबाइक ब्याट्रीमा सीमित रहेकाले ब्याट्रीको थप विकासमा होभरसर्फ र दुबई पुलिस दुवैले काम गरिरहेको बताएका छन् । यसमा सानो पङ्खा भएकाले धेरै ठूलो आवाज ननिकाल्ने हुँदा यो साधन धेरै सुरक्षित रहेको होभरसर्फको दाबी छ ।

यस्तोमा आगामी मोडलहरुलाई अझ प्रभावकारी बनाउनेमा कम्पनी लगातार काम गरिरहेको बताएको हो । यसबारेमा चारैतिरबाट अनेकौँ सुझाव र उपायहरु आइरहेको हुनाले काम जारी राख्न प्रोत्साहन मिलिरहेको कम्पनीको भनाइ छ । यसप्रति पुलिस विभाग भने धेरै उत्साह व्यक्त गरिरहेको छ भने एरोस्पेस उद्योगका लागि पनि यो निकै ठूलो उपलब्धि भएको बताइएको छ ।