तीन महिनामा दैनिक औसत ६ जना बलात्कृत

२८ कार्तिक २०७५, बुधबार १३:३२

बीबीसी

बलात्कारपछि निर्मला पन्तको हत्या गरिए यताका यी तीन महिनामा दैनिक सरदर छजनाभन्दा बढी बालिका र महिला बलात्कृत भएका उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।

त्यो क्रम नरोकिएमा चालु आर्थिक वर्षमा बलात्कारका घटना अघिल्लो वर्षभन्दा दोब्बर हुने देखिन्छ।प्रहरी प्रधान कार्यालयका अनुसार गत साउनदेखि असोजसम्म ९३ दिनमा देशभरि ६०१ वटा बलात्कारका उजुरी दर्ता भएका छन्।अर्थात् दैनिक औसत ६।४६ जना बालिका, किशोरी र महिला बलात्कृत भएको देखिन्छ।सो अवधिमा बलात्कारको प्रयास गरिएको भन्दै थप २५२ वटा उजुरी परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए।गत साउन र भदौ दुई महिनामा मात्र छजनाको बलात्कारपछि हत्या भएको तथ्याङ्कले देखाउँछ।विगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछोप गर्ने चलन थियो नेपाल प्रहरीले गरेको प्रयासको

 

तर प्रहरी प्रवक्ता सुवेदी महिलामा जागरुकता आएकाले उजुरी गर्ने क्रम बढेको दाबी गर्छन्।उनले भने, ूविगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछोप गर्ने चलन थियो तर नेपाल प्रहरीले गरेको प्रयासको जागरुकताका कारण यस्तो उजुरी बढेको हो।प्रहरीका अनुसार गत वर्ष बलात्कारपछि हत्याका १४ वटा घटना भएका थिए भने १,४८९ बलात्कार र ७२७ वटा बलात्कारको प्रयासका घटना भएका थिए।जे गर्दा पनि हुन्छ भन्ने वा यो मेरो परिवार वा गुटको मान्छे हो बचाउनु पर्छ भन्ने मानसिकता हावी हुँदै गएको छ।

त्यसले दण्डहीनता बढाएको छ बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्नुमा कतिपयले दण्डहीनतालाई मुख्य कारण मान्छन् भने कतिपयले नेपालको सामाजिक संरचनालाई दोष दिन्छन्।बलात्कारसम्बन्धी धेरै मुद्दामा वकालत गरिसकेकी अधिवक्ता सुष्मा गौतम यस्ता घटना बढ्नुका कारणबारे भन्छिन्, जे गर्दा पनि हुन्छ भन्ने वा यो मेरो परिवार वा गुटको मान्छे हो बचाउनु पर्छ भन्ने मानसिकता हावी हुँदै गएको छ, त्यसले दण्डहीनता बढाएको छ।

अझै पनि धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले कतिपय घटना बाहिर आउन नसकेको उनको बुझाइ छ।नेपालमा १० वर्ष द्वन्द्वपछि धेरैखाले अपराध गर्नेहरूलाई उन्मुक्ति दिइएकाले पनि कानुन लाग्दैन भन्ने प्रवृत्ति विकास भएको गौतमको बुझाइ छ।उनका अनुसार पीडकले राजनीतिक संरक्षण पनि पाएकाले यस्ता घटना बढेका हुन्।

उनी पछिल्लो समय महिलामा अन्याय सहेर बस्नु हुँदैन भन्ने ज्ञान र आत्मविश्वास विकास भएकाले कतिपय घटनाहरू प्रहरीसम्म आउने गरेकाले पनि सङ्ख्या केही बढेको बताउँछिन्।

अझै पनि धेरै स्थानमा घटनालाई दबाउने तथा पीडित महिलाले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले पीडितहरू बाहिर निस्कन नसकेको उनको बुझाइ छ।प्रहरी प्रवक्ता सुवेदी का अनुसार विशेषगरी किशोरी र बालबालिकाहरू बलात्कारको जोखिममा पर्ने गरेका छन्।त्यसमा पनि अभिभावक टाढा रहेका, पारिवारिक विखण्डन भएका, गरिब तथा विपन्न र दलितलगायतको समूहका बालबालिका बलात्कारको उच्च जोखिममा रहने गर्छन्।प्रहरीमा आएका उजुरीका घटना हेर्दा बलात्कारबाट पीडित हुनेमा १८ वर्षभन्दा कम उमेरका धेरै छन्।गत वर्षको तथ्याङ्क हेर्दा बलात्कार हुनेमध्ये यो उमेर समूका बालबालिकाको सङ्ख्या ६४ प्रतिशत देखिन्छ।

सरकारी अधिकारीहरू भने बलात्कारलगायत सबैखाले घटना रोक्न काम गरिरहेको दाबी गर्छन्।समुदायको सहयोग नभई यस्ता घटनामा कमी नआउने भएकाले समुदायसँग मिलेर काम गर्ने अभियान अघि बढाइएको प्रहरी अधिकारीहरूको तर्क छ।हालै सुरु गरिएको उक्त अभियानले समाज र प्रहरीबीचको द्वन्द्व कम गरेर सुरक्षा क्षेत्र सुधार गर्ने र अपराध कम गर्ने उनीहरूको दाबी छ।समुदाय(प्रहरी साझेदारीु नामक उक्त अभियान लागु भइसकेकाले बलात्कार मात्र नभई सबैखाले अपराधमा कमी आउने प्रवक्ता सुवेदीले बताए।अभियान ७७ वटै जिल्लाका सबै स्थानीय तहमा र त्यहाँका विद्यालयहरूमा सुरु गरिसकिएको प्रहरीले जनाएको छ।

अभियानका क्रममा प्रहरी र सबै सरोकारवाला गरी करिब एक करोड २० लाख जना व्यक्तिहरू प्रत्यक्ष रूपमा सहभागी हुने भएकाले त्यसले अपराध रोक्न र अपराधी पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।प्रहरीले यस्ता घटनामा ९० प्रतिशत सफलता पाउने गरेको छ। बाँकी त जहापनि असफलता हुने गर्छ। त्यसैका आधारमा प्रहरी प्रमुख हटाउने भन्ने सत्य होइन

प्रहरीको भूमिकालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी प्रमुखलाई परिवर्तन गर्ने चर्चा समेत चल्ने गरेको छ।त्यसबारे प्रश्न गर्दा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रहरीको कामबाट शतप्रतिशत सन्तुष्ट हुन ठाउँ भने नरहने बताए।उनले भने, प्रहरीले यस्ता घटनामा ९० प्रतिशत सफलता पाउने गरेको छ। बाँकी त जहाँ पनि असफलता हुने गर्छ। त्यसैका आधारमा प्रहरी प्रमुख हटाउने भन्ने सत्य होइन।

बढ्दो बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा कमी ल्याउन बालबालिकालाई सानै उमेरदेखि उचित यौनशिक्षा दिनुपर्ने त्रि(चन्द्र क्याम्पसकी समाजशास्त्र विभागमा अध्यापन गर्ने निर्मला ढकालले बताइन्।उनी नेपालको पितृसत्तात्मक समाजका कारण पुरुषलाई माथिल्लो दर्जा मिल्ने गरेकाले उनीहरूले महिलामाथि दुर्व्यवहार गर्ने गरेको बताइने तर्कलाई आधा सत्य मान्छिन्।

बलात्कार र यौन दुर्व्यवहारमा पितृसत्ताको मात्र दोष छैन। यो सोच मात्र पालेर यस्ता घटना कम हुँदैनन्। हामीले हाम्रा नानीहरूलाई घरैदेखि यौन दुर्व्यवहारबारे उचित शिक्षा दिनुपर्छ चाहे त्यो बालक होस् वा बालिका, उनले भनिन्।यौन दुर्व्यवहार गर्नेहरूको मनोबल बढ्दै गएर नै बलात्कार हुने गरेकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ।

बलात्कारमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने माग पनि केहीले गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय कानुनका जानकारहरू भने नेपालमा त्यस्तो व्यवस्था सजिलो नभएको तथा यसले बलात्कारमा कमी नल्याउने दाबी गर्छन्।अधिवक्ता गौतम भने बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी नेपालको कानुनी प्रावधान कमजोर नभएको तर कार्यान्वयन हुन नसकेको ठान्छिन्।कानुनमा केही कमजोरी होलान् तर समग्रमा यसको कार्यान्वयनमा नै समस्या छ, उनले भनिन्, कतिपय अवस्थामा प्रहरीले जाहेरीसमेत लिन नमानेका घटना देखिन्छन्।

सरकारले एक सय १० दिनसम्म निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न नसकिरहेका बेला उनका आमाबाबु भने अनिश्चितकालीन धर्नामा बसेका छन्। डेढ वर्षअघि काठमाण्डूमा हत्या गरिएकी १० वर्षीया अमृता नेपालीकी आमा सन्तोषीले न्याय पाउने आशा नलागेकाले नै छोरीको शव चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसको फोरेन्सिक मेडिकल विभागस्थित शव परीक्षण गृहमै छाडेकी थिइन्।काठमाण्डू जिल्ला अदालतले गत जेठमा आरोपितलाई अमृताको बलात्कार र हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सु्नाएपछि पनि उनले छोरीको शव लिन मानिनन्।

फैसलाको पूर्ण पाठ हेरेपछि मात्र उनले गत साउन २१ गते बल्ल छोरीको अन्तिम दाहसंस्कार गरिन्।प्रारम्भिक अनुसन्धानमा प्रहरीले छोरीले आत्महत्या गरेको देखाउन खोजेपछि उनले न्याय पाउनेमा विश्वस्त हुन नसकेकाले त्यस्तो गरेको बताएकी थिइन्।ूसुरुमा प्रहरीले त्यस्तो गर्‍यो अदालतको पनि फैसलाको कागज नहेरी नानीको शव उठाउने भनेकी थिएँ , कागज आएपछि उठाएँ, उनले भनिन्।
आलोचकहरूले पछिल्ला समयमा बढ्दो दण्डहीनताले सन्तोषी र पन्त परिवारलाई जस्तै न्याय पाउनेमा आश कम लाग्न थालेको बताउने गरेका छन्।