चितवन । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पु¥याएका छन् ।मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् ।आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगि कार्यालयभित्र नै बालेका थिए

प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झ्यालका सिसासमेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको छ ।दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ ।आगजनी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । तर, तीमध्ये दुई जनालाई छाडिएको छ ।
आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको चितवन प्रहरी कार्यलयले जनाएको छ ।सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका थिए ।
नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका नाममा पनि विश्वविद्यालयमा पटकपटक तालावन्दी गरिएको छ ।गएको असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको थियो । सो निर्णय मन्त्री परिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरेको छ । तर, मन्त्री परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले त्यो निर्णय कार्यन्वयन नगराउन गत असोज ९ गते आदेश गरेको छ ।
निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ । सर्वोच्चको आदेश र विश्वविद्यालयले भर्ना लिनसक्ने भन्दैं विद्यार्थी संगठनहरुले गत भदौं २६ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए । त्यसयता विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ ।
