काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसारनै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । सिटामोलको माग बढिरहेका बेला नेपाल औषधी लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो ।

लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ । अब छिट्टै सिटाप्लस उत्पादनको काम सुरु हुने स्रोतले बताएको छ । सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको बताइएको छ । बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कुरा भइरहेको पनि लिमिटेडले जनाएको छ ।
लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ । त्यसका लागि लिमिटेड आफैले अग्रसरता लिने तयारी गरिरहेको छ । पञ्चवर्षीय योजना लागू गराउनका लागि लिमिटेडले संस्थागत क्षमता अभिवृद्धिको कामलाई जोड दिइएको पनि स्पष्ट पारेको छ ।
