आज विश्व निमोनिया दिवस

२६ कार्तिक २०७५, सोमबार ११:२९

 

काठमाडौं नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ। प्राय बच्चालाई मात्र हुने भनेर बुझिए तापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकै सावधान रहनुपर्छ।

निमोनिया गराउनेचाहिँ किटाणु नै हुन्।भरतपुर अस्पतालमा कार्यरत नेपाल पेडियाट्रिक सोसोइटीका उपाध्यक्ष डा युवनिधि बसौलाका अनुसार निमोनिया धेरै प्रकारका हुन्छन्। कसैले जन्मजात पनि निमोनिया लिएर आएका हुन्छन्। भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी श्वासदर छ भने निमोनिया भएको भनिन्छ। दुई महिनासम्मको ५० श्वासदर छ र दुई महिनाभन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिमया भएको हो। त्यसैले फोक्सोको एक भागमा पनि यसले संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि सक्छ। केमिकल निमोनिया पनि हुन्छ। नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ चोटि निमोनिया भएको मानिन्छ।

कान्ति बाल अस्पतालका निर्देशक डा गणेश राई नेपालमा बाल मृत्यदुरलाई गणना गर्ने हो भने निमोनिया एक नम्बरमा पर्ने बताउँछन्। त्यसपछि झाडापखाला र कुपोषण पर्छ। पाँच वर्षका मुनिका बच्चालाई त्यसमाथि दुई वर्ष मुनिका बच्चाहरुलाई यो बढी हुने गरेको पाइएको छ। निमोनिया रोग जनस्वास्थ्य सम्बन्धी एकदम संवदनशील विषय हो। उनी भन्छन्, ‘निमोनियाबाट बच्न नसकिने होइन। रुघाखोकी त संसारको जुनसुकै कुनामा पनि लाग्छ। तर रुघाखोकी लागेपनि विकसित देशमा निमोनिया हुने सम्भावना कम हुन्छ। किनकि उनीहरुको पोषणको अवस्था राम्रो छ। सबै बच्चाहरुले खोप लिएका हुन्छन्। वातावरण राम्रो छ। रोगसँग लड्न सक्ने क्षमता राम्रो हुन्छ। त्यसैले बाल मृत्युदर विदेशमा कम हुन्छ।’

नेपाल जस्तो देशमा रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने उनको अनुभव छ। नेपाली बच्चाहरु कुपोषित हुन्छन्। रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ। उनीहरुले सबै खोप पनि पाउँदैनन्। सरकारले दिइराखेको खोपले पनि निमोनिया रोक्ने काम गर्छ। बच्चालाई चिसोबाट जोगाउने, न्यानो पारेर राख्ने गर्नुपर्छ। त्यसैगरी धुलोधुँवाबाट बचाउनुपर्छ।बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ। आमाको दूधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।