कम्युनिष्ट सरकार जनताको हित र विकासका काममा असफलः नेता खतिवडा

२५ कार्तिक २०७५, आईतवार १०:२८

काठमाडौं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकार अराजकतातर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ । आयोखवर डटकम संगको कुराकानीमा नेता खतिवडाले सरकारले दुई तिहाइको दम्भको आडमा निषेधको राजनीति गरेर अघि बढन खोजेको आरोप लगाउनुभयो । सरकार अराजकतातर्फ उन्मुख भएको भन्दै नेता खतिवडाले सच्चिन आग्रह गर्नु भयो ।

जनतालाई सपना मात्र बाँडेर पूरा नगरेको भन्दै उहाँले कम्युनिष्ट सरकार जनताको हित र विकासका काममा असफल भएको दाबी समेत गर्नु भयो । पूर्व सांसद समेत रहेका नेता खतिवडाले सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनताले सरकारको महसुस गर्न नसकेको बताउनुभयो । कम्युनिष्टहरुले चुनावका बेला वृद्ध भत्ता वृद्धि गर्ने आश्वासनमा जनतासंग भोट लिएको र चुनाव जितेपछि वृद्ध भत्ता वृद्धि नगरेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । चुनावका बेला भोट माग्न गाउँगाउँ पुग्ने नेताहरुले चुनाव जितेपछि जनतालाई बेवास्ता गर्ने गरेको उहाँको भनाई थियो । देश विकासका नाममा जनतालाई ढाँटेर राजनीति गर्न नहुने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘राजनीति अरु विषयमा गरौं, विकास र समृद्धिको काममा होइन ।’ उहाँले चुनावमा गर्ने भाषण र प्रतिस्पर्धाका आधारमा विकासको काममा कसैले पनि अवरोध गर्न नहुने धारणा व्यक्त गर्नुभयो । सरकार असफल भएको भन्दै उहाँले जनताका अधुरा सपना अब कांग्रेसले नै पुरा गर्ने बताउनुभयो ।