काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा को एकता प्रक्रिया अलमलमा परेको छ । जसको कारणले गर्दा पार्टीको सांगठनिक तथा वैचारिक गतिविधि थप भद्रगोल बन्दै गएको देखिन्छ । । एकताको जिम्मेवारी पाएका नेताले समयमै काम गर्न नसक्दा एकता प्रक्रिया नै अलमलको गोलचक्करमा फसेको छ ।

पछिल्लो समय नेताहरू जिल्ला तथा गाउँमा दसै दीपावली, छठपर्वलगायतका पर्वका अवसरमा आयोजना हुने शुभकामना कार्यक्रममा व्यस्त भएका छन । त्यसो भए पछि एकता प्रक्रियामा अन्योल देखिएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा एकता भएपछि नेकपा गठन भएको हो । पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्र सम्पूर्ण कमिटीको एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, साढे पाँच महिना बितिसक्दा पनि एकता प्रक्रियाले कुनै सार्थकता पाउन भने सकेको छैन ।
पार्टी एकताले गति लिन नसक्दा सांगठनिक तथा वैचारिक गतिविधि नै भद्रगोल भएको छ । पार्टी एकताका लागि जिम्मेवारी पाएका शीर्ष नेताहरू विदेश भ्रमणका साथै शुभकामना कार्यक्रममा व्यस्त हुँदा एकता प्रक्रिया नै अलमलमा परेको संकेत देखिन्छ ।
हालसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी मात्रै घोषणा भएको छ । पोलिटब्युरो, प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीयसहित स्थानीय तहसम्मका कमिटीका साथै जनवर्गीय संगठनको एकता अझै टुंगो लाग्न सकेको छैन ।
नेकपाले नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन गरे पनि पोलिटब्युरो गठन गरेको छैन । पार्टीको विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ सदस्य पोलिटब्युरो हुनेछन् । ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेकाले १४७ सदस्यसम्मको पोलिटब्युरो गठन हुनेछ ।
टुंगो लागेका कमिटीमा रहेका नेताले कुनै किसिमको जिम्मेवारी पाएका छैनन् । प्रदेशतर्फ संसदीय दलको नेता, उपनेता, सचेतकलगायतका पदाधिकारीसमेत चयन हुन सकेको छैन ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भई अहिले आराम गर्दै छन् । अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शुभकामना अदानप्रदान कार्यक्रममा व्यस्त छन् ।
दुई सदस्यीय कार्यदलका सदस्य एवं पार्टी महासचिव विष्णु पौडेलसमेत शुभकामना आदानप्रदान कार्यक्रममै व्यस्त छन् । अर्का सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई मन्त्रालयको कामबाट फुर्सद छैन । वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत शुभकामना आदानप्रदान कार्यक्रममै व्यस्त रहँदै आएका छन् ।
