काठमाडौं । नयाँ बानेश्वरको पाँचचारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ विगत तीन वर्षदेखि उक्त होटल बन्द हुदै आएको छ

बन्द होटलको लगानीका विषयमा भएको विवाद उत्कर्षमा पुगेका कारण यो होटल ०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको थियो ।होटल बन्द हुनासाथ सैयाैं मजदुरहरुले रोजगारी गुमेको भन्दै आन्दोलन गरेका थिए । सेयर विवादका कारण बन्द गर्ने मनस्थितिमा पुगेका होटल सञ्चालकले नै भूकम्पपछि आएको अनुगमन टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप मजदुरहरुले लगाएक थिए ।
वैशाख १२ गते गएको भूकम्पबाट होटलमा सामान्य रुपमा क्षति पुगेको थियो । वैशाख १२ को भूकम्पपछि पनि भीआईपी पाहुनाहरु होटल एभरेष्टमै बसेका थिए । तर, पुनः वैशाख २९ गते गएको पराकम्पपछि होटलमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसियो ।
रातो स्टीकर टाँसिएको करिब तीन वर्षपछि पुनःनिर्माण शुरु गरिएको छ । स्रोतका अनुसार ६ महिनामा पुनःनिर्माण सम्पन्न गर्ने गरी होटल व्यवस्थापनले आरएस निर्माण सेवालाई ठेक्का दिएको छ ।
तोकिएको मितिमा नै निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष २०७६ साल देखि एभरेष्ट होटल पुनः सञ्चालनमा आउनेछ ।
