गोदाममै थन्कियो सहुलियत मूल्यको चिनी

१६ कार्तिक २०७५, शुक्रबार १३:२१

डोटी दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलका लागि आएको चिनी साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममै थन्किएको छ । सरकारले मूल्य निर्धारण नगर्दा साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट सहुलियत दरमा चिनी बिक्री गर्न सकेको छैन ।

चिनीको मूल्य निर्धारण नभएपछि साल्ट ट्रेडिङले डोटीको दिपायलमा रहेको पिपल्ला बजारमा सञ्चालन गरिरहेको सुपथ मूल्य पसलमा नुन मात्र बिक्री भइरहेको छ । दसैँ अघिदेखि नै चिनी बिक्री गर्ने तयारी गरिए पनि आपूर्ति मन्त्रालयको निर्देशनपछि रोकिएको साल्ट ट्रेडिङ शाखा कार्यालय डोटी दिपायलले जनाएको छ । गएको असोज १४ मा आपूर्ति मन्त्रालयले ‘मूल्य निर्धारण नभएको’ भन्दै चिनीको बिक्री रोक्न निर्देशन दिएको थियो । साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय र अन्य ठाउँमा रहेका डिपोमा करिब साढे पाँच सय क्विन्टल चिनी एक महिनादेखि थन्किएको बताईएको छ । चाडपर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसलबाट बिक्री गर्न चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो ।संसद्को सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएपछि देशभर नै सुपथ मूल्य पसलबाट चिनीको बिक्री वितरण रोकिएको हो । सुपथ मूल्यको चिनी अहिलेसम्म पनि बिक्रि बितरण नहुँदा डोटीका स्थानियबासीन्दा आक्रोसित बनेका छन्