धितोपत्र बोर्डले भन्यो– हल्लाको पछि नलागी लगानी गर्नुुस्

१६ कार्तिक २०७५, शुक्रबार १३:०७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सतर्कता अपनाई लगानी गर्न आग्रह गरेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई हल्लाको पछि नलागीपुँजीबजारमा लगानी गर्न अनुरोध गरेको हो ।पछिल्लो समय सेयर बजारलाई सकारात्मक असर पार्ने नीतिगत व्यवस्था हुँदाहुँदै पनि परिसूचक अस्थिर बनिरहँदा सञ्चारमाध्यममा आधारहीन समाचार प्रकाशन भएको त्यस्ता सूचनाले अफवाह फैलाउन खोजेको भन्दै बोर्डले यस्तो आह्वान गरेको हो । बोर्डले धितोपत्र खरिदसम्बन्धी निर्णय लिँदा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको अवस्थाको बारेमा आधारभूत र प्राविधिक विश्लेषणसहित जानकारी लिन लगानीकर्तालाई आग्रह गरेको छ ।

वर्तमान पुँजी बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको पनि बोर्डले दाबी गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा आर्थिक समृद्धिको मार्गचित्र कोर्दै पुँजी बजारमार्फत् देशको आर्थिक समृद्धिमा जोड दिएको बोर्डले बताएको छ । केही वर्षदेखि अन्योलको रुपमा रहेको भ्याटको विवाद समाधान गरी स्थायित्व दिइएकाले लगानीकर्तालाई निर्धक्क लगानी गर्न बोर्डले अग्रह गरेको छ । पुँजी बजारमा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न ५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन चाहेमा ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

१ अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको धितोपत्र बजारमा क्षेत्रगत जोखिम कम गर्ने प्रयास गरेको बोर्डको बुझाई छ । निकट भविष्यमा पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु भएकोे छ ।मुलुकको समग्र आर्थिक अवस्था, सूचीकृत कम्पनीहरुको वित्तीय स्थिति पनि सन्तोषजनक रहेको बोर्डको भनाइ छ ।