विमानमा यात्रु नपुग्दा नगरपालिकाले तिर्‍यो ११ लाख

१६ कार्तिक २०७५, शुक्रबार ०८:३०

बाग्लुङ अपुग यात्रुको हवाइ भाडा कम्पनीलाई हर्जना स्वरुप तिर्दै आएको बाग्लुङ नगरपालिकाले बिहीबारको उडानमा ५६ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।

बाग्लुङको बलेवामा रहेको बलेवा विमानस्थल पुनः संचालन गर्न बाग्लुङ नगरपालिकाले हवाइ कम्पनीसँग उडानको क्रममा जति जना यात्रु अगुप हुन्छ त्यस बापतको भाडा नगरपालिकाले तिर्ने सम्झौता गरेको छ। सम्झौताअनुसार एक उडानमा १२ जना यात्रु हुनुपर्ने छ। दशैंको समयमा नियमित उडानको अलावा साताको दुई उडान गर्ने वायु सेवा निगमले अनुमति दिएको भए पनि यात्रु अभावका कारण हुन नसकेको नागरिक उड्डयन कार्यालय बलेवाका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए। खत्रीका अनुसार नियमित उडान सुरु भए पनि दुवैतर्फ पर्याप्त यात्रु छैन। अपुग यात्रुको हर्जना बाग्लुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि २०७४ चैत ९ देखि विमानस्थलमा हवाइ सेवा सञ्चालनमा आएको हो। नगरपालिकाले अपुग यात्रुहरुको हर्जना तिर्नका लागि तारा एयर र नेपाल एयरलाइन्सलाई १०र१० लाख गरी २० लाख अग्रिम भुक्तानी गरेको छ। नेपाल एयरलाइन्सले हालसम्म १५ र तारा एयरले असारसम्म १२ वटा उडान भरेको छ। नगरपालिकाले हालसम्म अपुग भएका यात्रुहरुको भाडा ११ लाख रुपैयाँभन्दा बढी बुझाएको छ। २०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ वर्षदेखि बन्द रहेको थियो।