काठमाडौं । महोत्तरी, सर्लाही, डडेल्धुरा, धनुषा र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको छन् ।
महोत्तरी गौशाला नगरपालिका–१ रामनगरस्थित सडक मा ज८ प ८५६४ नम्बरको मोटरसाइकल दुर्घटनामा १८ वर्षीय चालक अजय महत्तोको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल सवार सोही स्थान बस्ने १५ वर्षीय महेश महत्तोको डिएनबी अस्पताल बर्दिबासमा उपचारको भएरहेको छ । सर्लाही मलंगवा नगरपालिका–८ स्थित सडकमा बीआर।३२ पी ए ०५९३ नम्बरको भारतीय स्कारपियोको ठक्करबाट ७ वर्षीय रोशनकुमार साहको घट्नास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।धनुषा जनकपुर उपमहानगरपालिका–१९ बेंगास्थित सडकमा ज।७ प ७२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ महोत्तरी जलेश्वर नगरपालिका–९ बस्ने २३ वर्षीय मनिराम यादवको मृत्य भएको छ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–२ मैलैडास्थित सडकमा म १ ज ३११ नम्बरको जीप दुर्घटना हुँदा ४३ वर्षीया कुमारी देउबाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै दाङ लमही नगरपालिका–४ अरनवास्थित महेन्द्र राजमार्गमा रा।१ त १३६७ नम्बरको पाबर टेलर र रा ४ प ५५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट कौशल चौधरीको फ्लोरेन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रेशम चौधरीलाई सामान्य उपचार पश्चात थप उपचारको लागि बुटबल लगिएको छ ।
