काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन ।
नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयम् नै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव हाल्न लागेको बताएका हुन । सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए ।
कांग्रेस एमालेले समेत संघीयता नचाहेको तर बाध्यतामा परेर संघीयता स्वीकारेको संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाइदिएको एजेण्डा भन्दै केसीले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको जनताले नै असफल बनाइदिने दावी गर्दै नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, कासी जानुपर्छ’ भने जस्तै भएको बतउदै अहिले ठूला दलहरुलाई पनि संघीयता ‘नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भने जस्तै भएको बताए ।