कर्णाली राजमार्गमा मनपरी भाडा लिँदै 

११ कार्तिक २०७५, आईतवार १७:३०

कर्णाली राजमार्गमा गुड्ने सार्वजनिक यातायातका साधनहरूले मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफुहरू मर्कामा परेको यात्रुहरूले गुनासो गरेका छन्।

सरकारले १० प्रतिशत भाडा बढाएको भए पनि यात्रुहरूबाट ३० देखि ५० प्रतिशत भन्दा बढी भाडा लिँदा आफुहरू मर्कामा परेको उनीहरूले बताएका हुन्।जुम्ला सदरमुकामको विभिन्न स्थानमा छरिएर रहेका टिकट काउन्टरबाट लामो तथा छोटो दुरीको लागि छुटेका सवारी साधनहरूले मनपरी तरिकाबाट भाडा लिँदै आएको अधिकारीहरूले बताएका छन्। यात्रुहरूले नजिकको प्रहरी चौकी र स्थानीय प्रशासनलाई समयमा जानकारी गराएपछि कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

जुम्लाबाट नेपालगञ्जसम्मको लागि १ हजार २ सय र सुर्खेतसम्मको लागि ९ सय ५० रुपैयाँ भाडादर तोकिएको भए पनि एकजना यात्रुबाट १ हजार ६ सयदेखि २ हजार रूपैयाँसम्म भाडा लिँदै आएको यात्रुहरूले बताएका छन्।सरकारले १० प्रतिशत भाडा बढाएको भए पनि यात्रुहरूबाट मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफूहरू मर्कामा परेको यहाँका स्थानीय बासिन्दाहरूले बताउँदै आएका छन्। स्थानीय प्रशासनले भाडामा एकरुपता ल्याउन पहल नगरेको हुनाले आफूहरूले समेत मनपरी तरिकाले भाडा लिँदै आएको स्वीकार गर्छन्, कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मिन बहादुर थापा।