हिजो भृकुटीमण्डपमा नेकपाले गरेको चियापान समारोहमा असन्तुष्ट एक कार्यकर्तामाथि पार्टीकै कार्यकर्ताले हमला गरेका छन। कसले कुटपिट गरे भन्ने चाहिँ अझै पुष्टि भइसकेको छैन । चियापान समारोहको बहिष्कार गर्दै पर्चा बाँडिरहेको अवस्थामा युवराज पौडेल कुटिएका हुन् ।

पौडेलले नेकपा असन्तुष्ट समूहको नाममा एक मोर्चा समेत बनाएका छन । त्यसको संयोजकको रुपमा उनले चियापानबीच पर्चा बाँडिरहँदा उनीमाथि आक्रमण भएको हो । उनले नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला गतिविधि र निर्णयबाट जनता निराश बनेका छन् भन्दै चियापानमा फजुल खर्च गर्न नहुने बताएका छन । बलात्कारका दोषी अझै पक्राउ पर्न सकेका छैनन् । माफियाहरु सक्रिय छन् ।अपराध, भ्रष्टाचार, महंगी जस्ता समस्यालाई सरकारले सम्बोधन गर्न सकेकै छैन । जनतामा निराशा छाएको यस्तो अवस्थामा ५० हजारलाई बोलाएर चियापान गर्नुको औचित्य छैन भन्र्ने कुरामा उनको तर्क हो ।
चियापानको अघिल्लो दिन मात्रै पनि हामी असन्तुष्ट केही साथी मिलेर विज्ञप्ति जारी गरिसकेका थियौँ । नेकपाका उच्च नेताहरुलाई पनि भेटेरै यसबारे सुझाव दियौँ । तर सनुवाइ भएन । अन्ततः चियापान समारोहमै उपस्थित भएर आम कार्यकर्ता र जनतालाई नै हाम्रो कुरा भन्नु पर्छ भन्ने ठानेर पर्चा बाँड्न पुगेका थियौँ । पौडेलले बताए ।
प्रधानमन्त्रीले केही समयअघि कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिइरहेका थिए । त्यसैको परिणाम आज ओली र प्रचण्डबाट पालित पोषित भाडाका कार्यकर्ताले ममाथि आक्रमण गरे । ओलीका अरिंगाल नै ममाथि जाइलागे भन्दै उनले आरोप लगाएका छन ।
व्यक्तिगत रुपमा मलाई यसले केही असर परेन होला । आम जनताले अब नेकपा तथा सरकारलाई कसरी बुझ्लान् के सोच्लान् यस्तो अहंकार देखाउँदै जाने हो भने यो पार्टी जनतामा झनै अलोकप्रिय हुन्छ । म लगायत हामी असन्तुष्ट थुप्रै कार्यकर्ता यस्ता हमला सहेर बस्न सक्दैनौँ । अव यसको बिरोधमा उत्रन्छौ उनले भने ।
