नव समाजवादी पार्टीको प्रदेश ५ का जिल्ला समितिहरू नयाँ शक्ति पार्टीमा समायोजन भएका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी नवसमाजवादी पार्टीका प्रदेश ५ संयोजक चेतनारायण पन्थीले वैकल्पिक विचारसहित आर्थिक विकास, समृद्धि, सुशासन र सदाचारको पक्षमा स्पष्ट भिजन भएकाले नयां शक्ति पार्टीमा प्रवेश गरेको बताए । प्रदेश ५ का १२ मध्ये ८ जिल्लाका अध्यक्षसहित सिंगो जिल्ला समिति नयां शक्तिमा समायोजन भएकाछन बाकी रहेका रोल्पा, रुकुम, बर्दिया र दांग जिल्ला समिति पनि छिटै समायोजन हुने प्रकृयामा रहेको संयोजक पन्थीले बताए ।
पार्टी समायोजन कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नवराज सुवेदीले दुई तिहाई वहुमतको सरकार अकर्मण्य भएको बताए । सरकार गठन हुंदा जनतामा ठूलो अपेक्षा र आशा रहेपनि प्रतिवद्धता र घोषणापत्र अनुसारको काम नगर्दा जनतामा निराशा छाइसकेको बताए ।
पछिल्लो ३ महिनामा सरकारले ५ प्रतिशत मात्र विकास वजेट खर्च गरेको हिसाबले वर्षभरिमा २० प्रतिशत भन्दा बढी वजेट खर्च गर्न नसक्ने अवस्था देखिएको नेता सुवेदीले बताए । संघीय सरकारले प्रदेशलाई न्यूनतम आवश्यक कर्मचारी पनि नदिएको र निर्माणमा पनि ढिलाई गरेर संघीयता कार्यान्वयनमा इमान्दार नदेखिएको नेता सुवेदीले बताउदै । अधिकार जति केन्द्रमै राखेपछि कसरी संघीयता सफल हुन्छ सुवेदीले प्रश्न गर्दै भने संघीयताको मर्म भनेको अधिकार तलसम्म बांड्ने हो । निर्मला पन्त बलात्कार र हत्या,सुन तस्करी लगायतका घटनाबाट सरकारले अपराधी र भ्रष्टलाई जोगाउन खोजेको पुष्टी भएको आरोप लगाए । वर्तमान सरकारबाट सुशासन,विकास र समृद्धि सम्भव नभएको दावी गर्दै उनले अर्को चुनावमा वैकल्पिक शक्ति नयाँ शक्ति पार्टीहुने दाबी समेत गरे ।
