मोटरसाइकल दर्ता प्रदेशअनुसार,

८ कार्तिक २०७५, बिहीबार ०९:४२

मोटरसाइकलको दर्ता अब प्रदेशअनुसार गरिने भएको छ ।

मोटरसाइकलको लट ९९ सम्म पुगेपछि दर्ता प्रक्रिया रोकिएको थियो । सवारी व्यवस्था नियमावली २०५४ मा दुई अंक अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो ।
९९ लट पूरा भएपछि दर्ता प्रक्रिया रोकिएको थियो । मोटरसाइकलमा अब अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ ।

असोज १६ गतेदेखि यातायात व्यवस्था विभागले दर्ता प्रक्रिया रोकेको थियो । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअनुसार दर्ताको बाटो खुलाएपछि अब दर्ता प्रक्रिया सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।राजपत्रमा प्रकाशित भएपछि दर्ता सुरु गरिने विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका मोटरसाइकल दर्ता शाखाका प्रमुख गणेश अर्यालका अनुसार  प्रदेशअनुसार मोटरसाइकल दर्ता प्रक्रिया सुरु हुनेछ । उनका अनुसार पहिले प्रदेशको नाम अथवा कोड, त्यसपछि दर्ता कार्यालयको कोड, अनि नम्बर राखिनेछ ।आजभोलिमै राजपत्रमा प्रकाशित हुने कुरा छ,उनले भने,त्यसपछि दर्ता प्रक्रिया सुरु हुनेछ ।नेपालमा अहिलेसम्म सवारी दर्ता अञ्चलअनुसार हुँदै आएको थियो । बागमतीमा ९ लाख ७० हजार मोटरसाइकल दर्ता भएपछि रोकिएको थियो ।दैनिक पाँचसय जति मोटरसाइकल दर्ताका लागि आउने गरेको विभागको भनाई छ ।