पार्टी एकीकरणका कारण सरकारले गति लिन सकेन पूर्वसभामुख घर्ती

७ कार्तिक २०७५, बुधबार २०:०१

सरकारले जनअपेक्षाअनुसार परिणाम दिन नसकेको पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा की स्थायी कमिटी सदस्य ओनसरी घर्ती मगरले बताएकी छन्।

नवलपरासीमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घर्तीले पार्टी एकीकरण र देश निर्माणको जिम्मेवारी एकैपटक आएकोले सरकारले अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताएकी हुन्।

पार्टी एकता सकिएसँगै नेकपा संस्थागत ढंगले सञ्चालन हुने घर्तीले बताइन्। स्थानीय तहसम्म नै पार्टी एकीकरणको काम सकिएलगत्तै सरकारको कामले पनि गति लिने बताउँदै नेकपाले संस्थागत निर्णय गर्दै सरकारको कामले गति लिन थालेपछि नेपाली जनताले नेकपाले जनताका लागि के गर्दैछ भन्ने कुरा प्रष्ट हुने घर्तीको भनाई छ। अहिले पार्टी एकताकै चरणमा रहेकोले पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको समेत स्वीकार गरेकी छन्। प्रदेश ५ नेपाल कम्युनिस्ट पार्टी नेकपा की अध्यक्षसमेत रहेकी घर्तीले बुधवार सुनवलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महिलालाई विश्वास र सम्मान गर्ने पार्टी नेकपा नै रहेको दाबी गरेकी छन्।

नेतृ घर्तीले महिलाले पनि नेतृत्वगर्न सक्छन् भनेर पार्टीले आफूलाई पनि विगतमा सभामुख र अहिले पनि पार्टीको प्रदेश ५ को अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिएको बताइन्। अब महिलाले पनि अवसर पाएमा नेतृत्व गर्न सक्छन् भन्ने विश्वास दिलाउने काम महिलाकै काँधमा रहेको पनि उनले बताइन्।