एडीबीको सहयोगमा साझाले ल्यायो विद्युतीय बस

६ कार्तिक २०७५, मंगलवार १३:३६

काठमाडौं उपत्यकामा ५ वटा विद्युतीय बस गुड्ने भएका छन् ।

एसियाली विकास बैंकको लगानीमा चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका गाडी साझा यातायातले चलाउन लागेको हो । साझा यातायात परिसर पुल्चोकमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बस सेवा उद्घाटन गरे । सो अवसरमा ओलीले ५ वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने भएकाले नेपालका लागि विद्युतीय सवारी नै उपयुक्त हुने बताए । सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत सवारीसाधन विद्युतीय बनाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

विद्युतीय बस केही समय काठमाडौंमा चलाएर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनी पठाइनेछ । लुम्बिनीमा पनि साझाकै व्यवस्थापनमा विद्युतीय बस चलाइनेछ ।चालकसहित २० सिट क्षमताका गाडीमा सिसी क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगर लगायतका सुविधा छन्।