नेपाल र डब्लुटीओबीच द्विपक्षीय वार्ता सम्पन्न

६ कार्तिक २०७५, मंगलवार १२:३५

स्वीट्जरल्याण्ड भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव र विश्व व्यापार संगठन डब्लुटीओ का महानिर्देशक रोबर्टो अजेभेडोबीच जेनेभामा द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

सोमबार भएको उक्त बैठकमा विश्व व्यापारसँग सम्बन्धित मुद्दामा छलफल भएको जेनेभास्थित नेपाली स्थायी नियोगले जनाएको छ ।बैठकमा वहुपक्षीय व्यापार प्रणाली, व्यापार वार्तामा राज्यको भूमिका, अतिकम विकसित राष्ट्रको चासो लगायतका विषयमा छलफल भएको थियो । बैठकमा विश्व व्यापार संगठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री यादवले नेपाललाई प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउन आग्रह गरेका थिए ।

जवाफमा बढ्दो विश्व व्यापारको तनावप्रति सजग गराउँदै विश्व व्यापार संगठनका महानिर्देशक अजेभेडोले यसलाई सुल्झाउन सबै सदस्य राष्ट्रको सहयोग आवश्यक पर्ने औंल्याएका थिए । विश्व व्यापार संगठन असफल भए यसको असरले सबै राष्ट्र प्रभावित हुने उनले बताएका थिए ।

बैठकमा उनले नेपालले आगामी डिसेम्बरमा दोस्रो व्यापार नीतिको समीक्षा कार्य सम्पन्न गर्नेमा विश्वास व्यक्त गरेका थिए । मन्त्री यादव वर्ल्ड इन्भेष्टमेन्ट फोरम, २०१८ मा सहभागी हुन जेनेभा पुगेका हुन् ।