अछाम मा १४ जुवाडे पक्राउ

६ कार्तिक २०७५, मंगलवार ०९:२४

 

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी १४ जना पक्राउ परेका छन् ।

जयगढको रोडबजार नजिक रहेको एक कोल्ड स्टोरमा जुवातास खेलिरहेका राजनीतिक दलका नेता, शिक्षकदेखि गाउँका अगुवासम्म पक्राउ परेका हुन् ।पक्राउ परेकाबाट ६० हजार चारसय ४० नगद रुपैयाँ, ६ प्याकेट तास, तीन थान कापीसमेत बरामद गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका सबैलाई जयगढबाट सदरमुकाम मंगलसेनमा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान गरी कानुनी कार्वाही गरिने डीएसपी शाहीको भनाइ छ । हालै लागू भएको अपराध संहितामा जुवातास खेल्ने र खेलाउनेलाई तीन महिना कैद र तीन हजार जरिवाना हुने व्यवस्था छ ।