निर्मला बलात्कार र हत्या प्रकरण एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्तीको सिफारिस

४ कार्तिक २०७५, आईतवार १४:३१

 

कञ्चनपुर भीमदत्तनगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालय लाई बर्खास्तीको सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालय समक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बित इन्सपेक्टर जगदीश भट्ट लगायतका प्रहरीको कामकारबाही बारे अनुसन्धान गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिको सिफारिसको आधारमा विष्ट र भट्टलाई बर्खास्तको सिफारिस गरेको हो।

सिफारिसलाई गृहसचिवस्तरीय बैठकले कार्यान्वयन गर्नेबारे निर्णय लिनेछ। प्रवक्ता क्षेत्रीले सिफारिसबारे गृहमन्त्रालयले तत्कालै निर्णय गर्नसक्ने जानकारी आफूलाई आएको बताए। निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव ११ गते उखुबारीमा भेटिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानमा हेलचेक्र्याइँ गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। जसमा १३ वर्षीय बालक सनी खुनाको प्रहरी गोली लागेर मृत्यु भएको थियो। निर्मला बलात्कार र हत्याका अभियुक्त अझैसम्म पनि पत्ता लाग्न सकेका छैनन्।

यसै बीच एसपी विष्टले आफूमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिररहेको बताए ।‘‘मलाई वर्खास्त गर्नेबारे जानकारी छैन् । म माथी कस्तो किसिमको कार्वाही हुन्छ या हुँदैन,त्यसको प्रकृती हेरेर मात्रै आवश्यक कदम चाल्छु, एसपी विष्टले भने ।