३५ दिनभित्र मेलम्चीको काम सम्पन्न

२९ आश्विन २०७५, सोमबार १६:०२

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७। ३ किमी बाँकी छ। सुरुङभित्रको ढलान गर्न २९ प्रतिशत बाँकी रहेको छ लगातार काम हुन सके ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ। दशैं तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा एक महीनाभन्दा बढी समय लाग्ने बताइएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ अम्बाथान मुहानको बाँध बाँध्ने काम वर्षात्मा खोलामा पानी बढेकाले स्थायी रुपमा बनाउन नसकी बाँकी रहे पनि अस्थायी रुपमा स्टिलको पाइप जडान भइसकेकाले सुरुङभित्र पानी हालेमा कुनै बाधा नपर्ने सूचना अधिकारी पन्तले बताए। नेपाल सरकारले इटालेली कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग सुरुङ निर्माणको ठेक्का सन् २०१३ मा सम्झौता गरेको थियो। निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको थियो। पछिल्लो समय पनि खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीको मागअनुसार थप रकम भुक्तानी गरी दशैं अगाडि मेलम्ची पानी सुन्दरीजलमा झार्ने शर्तमा गत असारमा तीन महीनाको म्याद थप गरेको थियो।