दशैँमा पनि तलब पाएनन्

२८ आश्विन २०७५, आईतवार ०९:२२

 

दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।

दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताय। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् ।भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले बताए ।

डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । चार कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिए । अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैँअघि अख्तियारी आउने सम्भावना कम छ । प्रदेश सरकार मातहत रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन् ।