आधुनिक हतियारसहित ६ जना पक्राउ

२६ आश्विन २०७५, शुक्रबार १७:३४

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार आधुनिक हतियारसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गएराति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल  एक थान म्याग्जिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए।

प्रहरी नायव निरीक्षक कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुरनजिक सीमा क्षेत्रको दशगजा क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले ३ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी निवासी २२ वर्षीय कमल साह,  श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला तीमालका २५ वर्षीय मनोज तामाङ रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। ६ जनालाई नै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।