काठमाडौं क्षेत्र नम्बर ७ वामदेव चुनावमा नउठ्ने पक्का

२६ आश्विन २०७५, शुक्रबार ०७:१३

काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा नेता वामदेव गौतम चुनाव नउठ्ने भएका छन्। पार्टीका नेता, क्षेत्र नं। ७ का प्रदेशसभा सांसदहरूसँगको परामर्शपछि गौतम चुनाव नउठ्ने निष्कर्षमा पुगेका हुन्।

क्षेत्र नम्बर ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले वामदेव चुनावमा नउठ्ने पक्का भएको बताए। ‘अहिलेको परिस्थितिमा उप निर्वाचनमा जानु उचित नहुने निष्कर्षमा वामदेव पुग्नुभएको छ मानन्धरले भने।

क्षेत्र नम्बर ७ बाट निर्वाचित रामवीर मानन्धरले मंगलबार गौतमका लागि भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनको घोषणाबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट थिएनन्। ओलीले बुधबार उक्त क्षेत्रका प्रदेशसभा सांसद मानन्धर र प्रकाश श्रेष्ठलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्रीले रामवीरको राजीनामाबारे परामर्श गरेका थिए।

क्षेत्र नं ७ बाट गौतमलाई उठाउने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गौतम र रामवीरबीच छलफल भएको थियो। तीन जनाको आपसी समझदारीमा रामवीरले राजीनामा दिने निष्कर्ष निकालेका थिए।पार्टीमा छलफल नगरी रामवीरको आकस्मिक राजीनामा आएपछि नेकपाभित्रै असन्तुष्टि छाएको छ। नेकपाका महासचिव विष्णु पौडेलले गौतमले काठमाडौं ७ बाट चुनाव उठ्न अहिले उपयुक्त नहरेको बताएका थिए।

गौतमले चुनाव नउठ्ने निर्णय गरेसँगै रामवीरको राजीनामामा नैतिक प्रश्न उठेको छ। उनले यसबारे प्रतिक्रिया दिइसकेका छैनन्।  राजीनामा सुनेपछि ७ नम्बर क्षेत्रका मतदाता तथा शुभेच्छुक आक्रोशित छन्।