सिट गुम्ने गरी चुनाव हुँदैन प्रचण्ड

२५ आश्विन २०७५, बिहीबार ०८:०६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्।

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा लडाउने चर्चा भइरहेका बेला अध्यक्ष दाहालले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको प्रष्टयाएका हुन्।

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गरे।

पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन। त्यति चै ढुक्क हुनुहोला उनले भने।

बुधबार दसैँको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको पनि स्पष्ट पारे ।पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।