महिला सांसदहरुले राजीनामा दिनुसः धमला

२० आश्विन २०७५, शनिबार १७:२२

 

काठमाडौं । नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्या पत्ता लगाइदिने दाबी गर्नु भएको छ ।

 

 

‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तरगत राजधानीमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री धमलाले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाउनु भयो ।

पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्ति आसेपासे पुँजीवादमा रमाएकाहरुको निकृष्ट अभिव्यक्ति भएको उहाँले बताउनु भयो ।

उहाँले महिला सांसदहरुको राजीनामा माग्नु भयो । ३३ प्रतिशत खाने तर, आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै उहाले भन्नु भयो , ‘कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् ।’

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनु भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले निर्मला पन्तको हत्यारा पत्ता लगाउने जिम्मा आफूलाई दिन सरकारलाई चुनौती समते दिनु भयो । ‘निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उहाले भन्नु भयो , ‘एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्, अहिले पत्ता लाग्छ हत्यारा ।’

जसले प्रमाण नष्ट गर्छ, उनीहरुलाई नै पन्तको हत्यारा थाहा रहेको उहाले बताउनु भयो ।