काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारबाट आर्थिक समृद्धिको आशा गर्न नसकिने बताउनु भएको छ । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप समेत लगाउनु भयो ।

काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका सिंहले भन्नु भयो बलात्कार, अपहरण, ब्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न सकिँदैन ।’
आफूहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी आउनुले सरकार दुई तिहाइको दम्भ देखाउनमात्र उद्दत रहेको बताउनु भयो । सत्तारुढ दल निकटका मुख्यमन्त्रीहरुबाट समेत सरकारको आलोचना हुनुले संघीयता कार्यान्वयनमा सरकार चुकेको प्रष्ट हुने उहाँको भनाई छ ।
सरकार विधि सम्मत अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेपनि बहुमतको दम्भ देखाउनमै रमाइरहेको बताउँदै नेता सिंहले भन्नु भयो ‘जनमानसमा बढिरहेको निराशाबाट सरकारको चेत खुलोस् ।’
सरकारका गतिविधि विधिको शासन कायम गरेर जनभावना अनुरुप काम गर्न तर्फ केन्द्रित नदेखिएकाले मुलुक झन् जटिल समस्यामा फस्दै जाने त्रास बढेको उहाँले बताउनु भयो । ।
