सिंहदरबारभित्रै करारका कर्मचारीले नारा जुलुस गरे

१९ आश्विन २०७५, शुक्रबार ०९:५६

 

काठमाडौं– सिंहदबार बाहिर हनुमानस्थान, माइतीघर मण्डलासम्म सरकारले सभा, जुलुस निकाल्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । तर सिंहदरबारभित्रनै मन्त्रालयको ढोकामा सेवाबाट हटाइएका करारका कर्मचारीहरुले नारा जुलुससहित धर्ना दिएका छन ।

सरकारले कर्मचारी समायोजन अन्र्तगत हालै करार, अस्थायी तथा ज्यालादारीका रुपमा काम गर्ने कर्मचारीलाई हटाएको थियो । उनीहरुले पुर्नवाहालीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् ।

आइतबार कार्यालय खुल्ने समयमा पुगेका उनीहरुले मन्त्रालय घेराउ गरे भने सरकारले पनि सुरक्षाकर्मी परिचालन ग¥यो । कर्मचारी समायोजन अन्र्तगत विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने करारका कर्मचारी कटौती गरेपछि रोजगारीको माग राख्दै उनीहरुले मन्त्रालय घेराउ गर्दै आइरहेका छन् ।

गएको साउन १ गतेदेखि करारका कर्मचारीलाई सेवाबाट हटाइएको थियो । उनीहरुलाई सेवाबाट हटाउँदा ३ महिनाको एकमुष्ट तलब दिने भनेपनि त्यो पनि नपाएको बताएका छन् । सरकारले हटाउने निर्णय गरेपछि करारका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिदै पुन नियुक्तिको माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको तर्फबाट आन्दोलन गर्दै आएका उनीहरुले सरकारले गरेको निर्णयका कारण ३२ हजार कर्मचारी बेरोजगार बन्ने निश्चित भएको दावी गरेका छन् ।
उनीहरुले सरकारी कार्यालय, संघ–संस्था र अर्धसरकारी निकायहरुमा २ सय ४० दिन काम गरिसकेका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुलाई एक पटकका लागि स्वत स्थायी गर्न माग गरेका छन् ।

यस्तै मन्त्रीपरिषदले गरेको करारका कर्मचारी हटाँउने निर्णय खारेज गर्नुपर्ने, संघीय निजामती सेवाको गठनमा अस्थायी÷करार सेवा राख्नुपर्ने, समायोजनमा परेर हटाइएका विभिन्न कार्यालयका अस्थायी, करार कर्मचारीहरुलाई रोजीरोटीको ग्यारेन्टी गर्दै उचित व्यवस्थापन गर्न माग समेत गरेका छन् ।