काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद् झपटबहादुर रावलले नजिकिदै आएका दशै तिहार जस्ता पर्वको नाममा हाकिम लाई रक्सीका बोतल दिने र उपहार लिने दुबैलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद रावलले चाडवाडका नाममा उपहार लिनेदिने प्रथा बढेकाले तत्काल अन्त्य गर्नका लागि निर्देशन दिन समिति सभापति शशी श्रेष्ठलाई अनुरोध गर्नुभयो । ‘यसरी बोतल र उपहार बुझाएपछि नजिक हुन पाइन्छ र आफनो स्वार्थ पुरा गर्न सकिन्छकी भन्र्ने सोच कसैको छ भने त्यो मान्य हुन नसक्ने रावलको तर्क छ । यो प्रणालीले जिम्मेवारी बहन नगर्ने र चाकडीमात्र गरिरहने बानिको बिकास हुन्छ’ सांसद रावलले भन्नुभयो ‘ जसले दिएपनि र जसले लिएपनि गलत छ तत्काल अन्त्य गरिनुपर्छ, दुबैलाई आजैबाट कारवाही हुनुपर्छ ।’ रावलले तल्लो तहकाले माथिल्लो तहकालाई खुशी पार्न गरिने अनेक तरिकामध्ये यो नै बलियो भएको पनि बताउनुभयो । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग भइरहेका काम कारवाही र भावी योजनाका बारेमा जानकारी लिएको थियो ।
सांसद रावलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भइरहेका विभिन्न योजनाहरुको निरीक्षण र अनुगमन गर्न नसकेको पनि आरोप लगाउनुभयो । उहाँले सम्पत्ति शद्धिकरण विभागले कारवाही गर्नुको साटो कारवाही गर्छु भनेर तर्साउने काम मात्र गरेको पनि बताउनुभयो । समितिले दोस्रो खण्डमा लोकसेवा आयोगसँग छलफल गरेको थियो ।
रावलले आयोगले अहिलेसम्म आफ्नो अस्तित्वलाई बचाइरहेको र सबैले पत्याउने निकायको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो ‘ मालपोत र नापीमा काम गर्ने कर्मचारी पैसाबिना काम नै गर्दैनन् किन यस्तो भएको होला ।’
