काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउनु भएको छ । नेता नेपालसँग २९ सालदेखि मित्रता र घनिष्ठता रहेको भन्दै मिलेर अघि बढने बताउनु भयो ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाउनु भएको थियो । प्रदेश कमिटी गठनमा असन्तुष्टि जनाउँदा स्थायी कमिटी सदस्यहरुको भेला डाक्नु भएको थियो ।
अमेरिका भ्रमणबाट फर्किनु भएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले यही प्रश्न गरे ।
जवाफमा ओलीले नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताउनु भयो । । उहाँले भन्न्ु भयो, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’
प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नुको कुनै अर्थ नहुने बताउनु भयो ।
हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै ओलीले भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठेको बताउनु भयो । उहाँले भन्नु भयो , केहि दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं ।’
आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने ओलीले बताउनु भयो ।
यसअघि नेपालको विकास भएको तर, ७ महिना मात्र केही नभएको जसरी चर्चा गरिएको भन्दै प्रधानमन्त्री ओलीले भन्नु भयो , सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष मान्र्ने कुरा मात्र हो ।’
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उहाँले भन्नु भयो , ‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’
ओलीले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताउनु भयो । राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिका जानु भएका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गरेर फर्किनु भएको छ ।