रुकुम– रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।

उनले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको बताए। “हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ”, उनले भने, “अब यहाँका नागरिकले ल्याब र एक्स–रे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।”
यसैगरी सांसद शर्माले भ्रष्टहरुलाई एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् । उनले सुशासन कायम गरेर देशको बिकासमा जोड दिने बताए ।
रुकुम पश्चिमका जनप्रतिनिधि र कर्मचारीहरुसँगको भेटमा उनले जनताका आकाङ्क्षाअनुसार काम नगरेर कुनै किसिमको अड्को थाप्ने काम जनप्रतिनिधि र कर्मचारी जसले गरे पनि त्यो सह्य नहुने चेतावनी दिए ।
उनले रुकुम पश्चिमबाट समाजवादको अभ्यास गर्न आफूहरु लागिपरेको र गन्तव्यमा पुग्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकाले जनताको हरेक मागअनुसार कुशलतापूर्वक काम गर्न स्थानीय सरकार तदारुकताका साथ लागि पर्न निर्देशन दिए ।
