आश्विन २८, काठमाडौँ । तराई र राजधानी जोड्ने काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि नेपाली सेनाले भारतीय कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिद गर्ने भएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
शुक्रबार मन्त्रिपरिषदले उक्त प्रतिवेदन खरिद गर्ने निर्णय गर्दै यसको आवश्यक पर्ने पक्ष अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा नेपाली सेनाका रथि संयोजक रहेको ‘उच्च स्तरीय निर्देशक’ समितिलाई तोकेको हो ।
‘मन्त्रिपरिषदको यो निर्णयपछि काममा अब कुनै समस्या छैन । अब प्रक्रिया अघि बढ्नेछ । द्रुत गतिमा काम हुनेछ,’ रक्षामन्त्री भिमसेनदास प्रधानले भने, ‘चार बर्षमा कार्य सम्पन्न गर्नको लागि सरकारसँग अर्को विकल्प नभएर नै यस्तो निर्णय लिनु परेको हो । उक्त डीपीआरमा आवश्यक पर्ने पक्ष हामीले खरिद गर्ने हो । उक्त समितिले आवश्यक पर्ने पक्ष अध्ययन गरि मुल्य सिफारिस गर्नेछ त्यसपछि खरिद हुनेछ ।’ सरकारले २०७४ वैशाख २१ गते चार वर्षभित्र दु्रत मार्ग निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा सेनालाई दिएको थियो । सरकारले डीपीआर अध्ययनका लागि बनाएको पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजा संयोजकत्वको अध्ययन टोलीले उच्चस्तरीय निर्देशक समितिलाई प्रतिवेदन बुझाएको थियो ।