सुस्ता बचाउ अभियान काठमाण्डौमा आयो

१३ आश्विन २०७५, शनिबार १०:०५

काठमाडौं । भारतीय थिचोमिचोसँग लड्दै नेपालीभूमी बचाउने अभियानमा होमिएका सुस्ता बचाउ अभियान काठमाण्डौ आइपुगेको छ । गोपालप्रसाद गुरुङको संयोजकत्वमा उक्त टोली काठमाण्डौ आइपुगेको हो । अभियानका संयोजक गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतलाई भेटर सीमा विवाद र समस्याबारे आफ्नो कुरा राखेको जनाईएको छ ।

टोलीले भेटघाटपछि रक्षामन्त्री र गृहमन्त्री दुवैलाई ज्ञापनपत्र बुझाएको थियो । गुरुङसहितको टोलीले शुक्रबार गृहमन्त्री थापासँग भेटेर सुस्ता र सुस्तावासीका समस्या समाधानका लागि विविध संभावनाबारे छलफल गरेको थियो । सुस्ता बचाउ अभियानु का संयोजक गुरुङले विभिन्न मागसहित गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए । गृहमन्त्री थापासँग गृहमन्त्रालयमा भएको साक्षात्कार कार्यक्रममा सर्वप्रथम सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग गरिएको थियो ।

सोही क्रममा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले सुस्ताको समस्या समाधान गर्न सर्वप्रथम त्यहाँ बर्सौँदेखि बसेर सुस्ताको भूमी बचाउँदै आएका नागरिकलाई घरधुरी गनेर स्थानीय प्रतिनिधि समेतको रोहबरमा मुचुल्का उठाई घरदैलोमै पुगेर नागरिकता दिनुपर्ने विषय उठान गरेका थिए । त्यसपछि गृहमन्त्री थापाले सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिने विषयमा गृहमन्त्रालय गम्भिर भएर लाग्ने बताएका थिए ।

सो अवसरमा ग्रेटर नेपाल अभियानका अभियन्ता नेपालले २०६३ सालमा घुम्ती टोली बनाएर नागरिकता वितरण गर्न लाग्दा सुस्तावासीले नागरिकता बनाउन गए त्यसै दिन भारतीयहरु आएर उनीहरूका घरटहरा कब्जा गर्ने सूचना पाएको घटनापछि उनीहरुले नागरिकता लिन नपाएको प्रसंग गृहमन्त्री बादललाई स्मरण गराएका थिए ।

सुस्ता बचाउन भारतीय सीमा सुरक्षा बलसँग ज्यानको बाजी लगाउनेलाई नागरिकता नदिनु अन्यायपूर्ण भएता पनि अहिलेसम्म उनीहरुले नागरिकता समेत पाएका छैनन । उनीहरूले त नेपालको जमिन कब्जा हुनबाट मात्र बचाएका छैनन्, वास्तवमा सुस्तावासी नागरिक सँगसँगै जिउँदा जाग्दा बोर्डर पिलर हुन् । ग्रेटर नेपालका अभियन्ता नेपालले भने ।