काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले एउटा चुनाव हारेपनि राजनीति नहारेको बताएका छन् ।
शुक्रबार पार्टीको विधान मस्यौदा समितिको सुझाव संकलनका लागि वीरगञ्जमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल र नेपाली जनताको हित गर्ने पार्टी काँग्रेस भएको भन्दै एउटा चुनाव हार्दैमा विचलित नभएको बताए ।
उनले कम्युनिष्ट नेतृत्वमा सरकार गठन भएको सात महिना हुँदा समेत जनताका आधारभुत आवाश्यक्ता र विकासका काम सुरु नभएको भन्दै सरकार र सरकारको नेतृत्वको कडा आलोचना गरे ।
उनले मधेसवादी दलहरु समेत सत्ता र कुर्सीका लागि सिंहदरवार धाइरहेको भन्दै वर्तमान सत्तागठबन्धनबाट देशको सम्बृद्धि हुनै नसक्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीले सरकारलाई काँग्रेसले काम गर्न नदिएको झुठा आरोप लगाइरहेको भन्दै आफुले काम गर्न नसकेपछि काँग्रेसलाई दोष दिएर उम्कन खोजेको बताए ।
‘नेपाली काँग्रेसले सरकारलाई काम गर्न कुनै बाधा पुर्याएको छैन । काँग्रेस देश विकास र सम्बृद्धिका लागि सहयोग गर्न तयार छ’ नेता पौडेलको भनाई थियो । उनले कम्युनिष्ट नेतृत्वको सरकारले समाजबाद ल्याउनै नसक्ने ठोकुवा गरे ।
बरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हामीले सरकार र संसद सरकार बनायौ, अव कम्युनिजम ल्याउँछौ भन्छन् तर त्यस्तो छाँट देखिदैन । बरु नयाँ बर्ग जन्माउनुहोला, देशमा सम्बृद्धि आउने लक्षण छैन’ पौडेलको टिप्पणी छ ।