कुनै पनि बेला आन्दोलन हुन सक्छः नेता महतो

१० आश्विन २०७५, बुधबार १४:३३

 

पर्सा– राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए ।

उनले कर बृद्धिको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल समेत गरे ।

नेता महतोले संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिबद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।