देश र जनतालाई गरिबीको रेखामुनी राखेर शान्तिको कल्पना गर्न सकिँदैनः प्रचण्ड

३ आश्विन २०७५, बुधबार १६:२३

 

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै सङ्ख्यामा रहेका जनता गरीबीको रेखामुनी रहेको बेला केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति नहुने बताएका छन ।

उनले भने, ‘मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण मरुभूमीकरण तथा पानीको अभाव र अन्य रुपमा देखिएका जलवायु परिवर्तनका असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेका छन् ।’

लाखौँ मानिस अहिले पनि गरीबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा लाखौँ मानिस केही दशकयता गरीबीको रेखाबाट बाहिर आए पनि धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको बताए ।

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, ‘यसलाई व्यापक रुपमा स्वीकारिएको छ, कि शान्तिबिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन ।

दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ छ ।

विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै उनले न्युयोर्क वा साङ्घाईको शेयरबजारमा हुने उतारचढावले विश्व अर्थतन्त्रलाई तरङ्गित बनाउने बताए ।

लेउनले भने, ‘नेपाल विश्वस्त छ कि बिआरआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवतजावतको अप्ठयारा, अवरोधलाई हटाउनेछ ।’

जातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘वीन वीन’ सहयोग साझा समृद्धिको अवधारणा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चयनै निरुत्साहित गर्न सघाउने बताए ।

नेपालले पटक–पटक संयुक्त राष्ट्रसङ्घ घोषणापत्रका सिद्धान्तको वकालत गर्दै आएको जानकारी गराउँदै अध्यक्ष दाहालले संविधानमा विश्व शान्तिका लागि नेपालको प्रतिबद्धता प्रतिविम्बित भएको बताए ।