राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

२८ भाद्र २०७५, बिहीबार १८:२८

 

काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपा नेपालले पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

सरकारले राजनीतिक वार्ता टोली गठन गरेपछि राजपा नेपाल समर्थन फिर्ता लिनेबाट पछि हटेको हो । यसअघि राजपाले आफूहरुको माग पूरा नगरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।

तीन दिनअघि बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको थियो । तर, हाल आएर नेताबीच समर्थन फिर्ता लिनका लागि हतार नगर्न सहमति भएको एक नेताले जानकारी दिए ।

विभिन्न माग राखि राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री केपी शर्मालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएपछि साउन २७ गते राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले भेटेर मागको बारेमा मौखिक स्मरण गराएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा थुनामा रहेका तथा मुद्दा खेपिरहेकाका विषयमा सरकारले के गर्छ सक्छ त्यसका बारेमा आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो प्रतिवद्धता अनुसार प्रधानमन्त्री ओलीले वार्ता टोली नै गठन गरेपछि राजपा नेपालका नेताहरु सकारात्मक बन्दै सरकारलाई दिएको समर्थन कायमै राख्ने निश्कर्षमा पुगेका हुन् ।