ट्राफिक व्यवस्थापन सहज बनाउन आर्इजीपीको निर्देशन

२४ भाद्र २०७५, आईतवार १५:१२

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आइतबार बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गरे ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्दछन् ।

खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराएका थिए ।