वृद्धभत्ता बढाउनु पर्छ , ज्येष्ठ नागरिकले सराप दिएः प्रचण्ड

२० भाद्र २०७५, बुधबार ०९:४०

काठमाडौं । ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने सोच बनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न नसकेपछि बा–आमाहरुले सराप्न थालेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताए ।

पूरक बजेट ल्याएर हुन्छ या अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष प्रचण्डले जोड दिएका छन ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै निवासमा मंगलबार भेला भएका पत्रकारहरुसँग भने– ‘जनतामा हिजो हामीले गरेको प्रतिवद्धता पुरा गर्नु पर्छ ।

बूढाबूढी हुँदै गएपछि थोरैको पनि असाध्यै माया हुनेरहेछ प्रचण्डले भने ।

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै प्रचण्डले अगाडि भने– ‘पाँच सय रुपैयाँमात्रै थपिदिन पाएको भए र पाँच वर्षमा ५ हजार पुर्‍याइदिन्छौं भन्न पाएको भए अहिले हाईहाई भइराख्थ्यो, त्यत्ति पनि भएन ।’ अव सरकार यो बिषयमा गंम्भिर बन्न् पर्छ ।

नेकपा अध्यक्ष प्रचण्डले देशको बिकास समृद्दिका लागी जनतामा कर तिर्ने संस्कार बसाउनुपर्ने बताए ।

विकास र सामाजिक न्यायका लागि कर तिर्ने संस्कार आवश्यक रहेको प्रचण्डको भनाइ छ । ‘कर अलि बढी नै भयो भन्ने आएको छ, गाईजात्राहरु हेर्दा पनि त्यही करको कुरालाई देखाइएको छ । केही ठाउँमा त त्यस्तो भएको होला,’ प्रचण्डले भने, ‘तर कर तिर्नुपर्छ भन्ने बानी बसाउनु पनि आवश्यक छ ।

साँच्चै नै विकासलाई गति दिने हो भने जनताको तहमा प्रगतिशील कर प्रणाली बनाउनुपर्ने प्रचण्डको सुझाव छ । उनी भन्छन्– ‘कर नीति धनीलाई छुट दिने, गरीबलाई कस्नेखालको त हुन भएन, विकास र सामाजिक न्यायको निम्ति कर नीति प्रगतिशीलै हुनुपर्छ । तर, कर तिर्ने थिति त बसाउनैपर्छ । हरेकले कर तिर्नुपर्छ ।’

नीति र कानून सही बनाउने अनि लगानी र सुरक्षाको वातावरण बनाइदिने राज्यको दायित्व भएको बताउँदै प्रचण्ड भन्छन्, ‘तर, कर तिर्ने, राज्यलाई नछल्ने, जनतालाई नठग्ने दायित्व व्यवसायीको पनि त हो ।

विकसित देशका जनताले खुशीसाथ कर तिर्ने गरेको बताउँदै प्रचण्डले भने– ‘अरु देशमा हेर्‍यो भने त यति धेरै कर छ कि सिंगापुरमा, मलेसियामा, युरोपका देशहरुमा, अमेरिकामै गएर हेर्‍यो भने मान्छेले खुशीसित कर तिर्छन् ।’

कर तिर्दातिर्दा विकास धेरैपछि कतिपय देशमा सरकारले बिजुली इत्यादिको कर तिर्नु नपर्ने बनाइदिएको प्रचण्डले सुनाए । उनले भने–‘भोलि हामीले पनि त्यो परिस्थिति बनाउनुपर्छ । तर, अहिले त विकास निर्माणलाई अगाडि लैजानका लागि कर त तिर्नुपर्छ है भन्ने पाटोलाई पनि चर्चा गर्न जरुरी छ ।’