आकासियो डलर भाउ

२० भाद्र २०७५, बुधबार ०८:१८

काठमाडौं । बुधबार डलर भाउले आकाश छुएको छ । लगातार डलरको भाउ बढिरहेको बेला आज फेरी डलर महंगिएको हो । हिजो सम्म एक रुपैया बराबर करिब १ सय १३ रुपैयाँ २५ पैसामा कारोबार भैरहेको डलर बुधबार भाउ बढेर १ डलरको नेपाली बजारभाउ अनुसार १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । गएको १४ गतेबाट एकैनास खरिद विक्रि भईरहेको बजार भाउ आज आकाश छुने गरि बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्दै गएका कारण डलरको तुलनामा भारतीय मुद्रा पनि निक्कै कमजोर भएको छ । यसले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ८४ पैसा तोकेको छ । यो सन् २००० यताकै सबैभन्दा उच्च हो ।

सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको बैंकले जनाएको छ । डलर महंगो हुँदा पेट्रोलियम पदार्थ र डलरमा विद्युत खरिद सम्झौता भएका जलविद्युत आयोजनाको रकम भुक्तानीमा असर पर्छ ।