काठमाडौं– गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
पछिल्लो समय ‘क’ श्रेणीका गुण्डा नाइके दावा लामाले काठमाडौं छाडेपछि उनको कारोबार काभ्रेली समूहका सत्यमानले सम्हाल्दै आएका थिए ।
अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।
‘
नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेपछि गत असार २८ गते प्रहरीले पक्राउ गरेको थियो । तर, पूर्व विद्यार्थी नेत्री तथा सांसद नविना लामाले छुटाएकी थिइन् ।
पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै लामाले काठमाडौं छाडेका थिए । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।
भदौ १७ गते शनिवार दावा लामा लाई पनि भारतीय प्रहरीले फेक करेन्सी मुद्धामा इन्दिारागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यसअघि नेपाल प्रहरीले उनलाई रक्तचन्दन तस्करीमा पक्राउ गरेर कारावाही गरेको थियो ।
उनी बिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ ।
