काठमाडौं–नेपाल चिकित्सक संघले एक हप्ता भित्र मुलुकी अपराध संहिता ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सोमबार आफूहरुसँग भएको सहमति अनुसार एक हप्ता भित्र मुलुकी अपराध संहिता ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएका हुन्।
उनले आगामी सोमबार भित्र सो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारे ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले आगामी सोमबारसम्म संघीय संसदमा मुलुकी अपराध ऐन संशोधन प्रस्ताव दर्ता नभए मंगलबारबाट पुनः आकस्मिकबाहेकका अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी पनि दिए ।
उनले सो ऐन संशोधन नभएसम्म चिकित्सकहरुले ज्यानमाराको मुद्दा भोग्नुपर्ने अवस्था रहिरहने दावी पनि गरे ।
संघले चिकित्सकको लापरबाहीको कारणले विरामीको ज्यान गए, नगएको अनुसन्धान गर्न समयसिमासहितको कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले समय तोकेरै चिकित्सकको लापरबाहीका कारण विरामीको ज्यान गए, नगएको पुष्टि गर्न अनुसन्धानको व्यवस्था पनि कानुनमा गर्न सरकारलाई दवाव दिनु परेको स्पष्ट पारे ।
