काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने बताएका छन ।
सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाईनै कर्मचारी राख्न दिन सकिने अवस्था नरहेको मन्त्री पण्डितले बताए । मंगलबार कर्मचारी समायोजनका सम्बन्धमा प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श भइरहेको छ । मन्त्री पण्डितले भने ।
मन्त्री पण्डितले पुस मसान्तभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने गरि काम भइरहेको बताए । उनले पुस मसान्तसम्म आवश्यक कर्मचारीहरुको व्यवस्था हुने गरी सरकारले संघीय निजामती सेवा ऐनको प्रक्रिया अघि बढाइएको पनि समितिलाई जानकारी दिए ।
मन्त्री पण्डितले २ हजार कर्मचारी तत्काल पूर्ति हुने गरी लोक सेवा आयोगले मौखिक परीक्षाको तयारी गरिरहेको पनि समितिलाई जानकारी दिए । उनले सरकारले गाउँपालिकामा कर्मचारी व्यवस्थापनको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।
