उपचार गराउन हिँडेका बिरामी कालिगण्डकीमा बेपत्ता

१८ भाद्र २०७५, सोमबार १७:३८

म्याग्दी–उपचार गराउन सदरमुकाम आउँदै गरेका एक बिरामी पहिरो पार गर्ने क्रममा सडकबाट चिप्लिएर काली गण्डकी नदीमा बेपत्ता भएका छन् ।

उपचार गराउन सदरमुकाम एम्वुलेन्समा हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् ।

बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको भीरकाटेमा चिप्लिएर बमबहादुर कालीगण्डकी नदीमा खसेका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

रोगबाट धेरै दिनदेखि थलिएका पुर्जालाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्स लिएर श्रीमति मिठू पुर्जासहित हिँडेका थिए ।

बाटो अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतिको हात समाएर पहिरो छिचोल्ने क्रममा बमबहादुर चिप्लिएर नदीमा खसेका थिए ।

स्रोत रातोपाटी